अदालतको असाधारण अधिकार
संविधानको धारा १३३ (२) र (३) मा सर्वोच्च अदालतका असाधारण अधिकार क्षेत्रबारे देहायबमोजिम व्यवस्था गरिएको छ ।
संविधानद्वारा प्रदत्त मौलिक हकको प्रचलनका लागि वा अर्को उपचारको व्यवस्था नभएको वा अर्को उपचारको व्यवस्था भए पनि त्यस्तो उपचार अपर्याप्त वा प्रभावहीन देखिएको अन्य कुनै कानूनी हकको प्रचलनका लागि वा सार्वजनिक हक वा सरोकारको कुनै विवादमा समावेश भएको कुनै संवैधानिक वा कानूनी प्रश्नको निरूपणका लागि आवश्यक र उपयुक्त आदेश जारी गर्ने, उचित उपचार प्रदान गर्ने, त्यस्तो हकको प्रचलन गराउने वा विवाद टुंगो लगाउने असाधारण अधिकार सर्वोच्च अदालतलाई हुनेछ ।
असाधारण अधिकार क्षेत्र अन्तर्गत सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरण, परमादेश, उत्प्रेषण, प्रतिषेध,
अधिकारपृच्छा लगायत अन्य उपयुक्त आदेश जारी गर्न सक्नेछ । तर अधिकार क्षेत्रको अभाव भएकोमा बाहेक संघीय संसद वा प्रदेश सभाको आन्तरिक काम कारबाही र संघीय संसद वा प्रदेश सभाले चलाएको विशेषाधिकारको कारबाही र तत्सम्बन्धमा तोकेको सजायमा सर्वोच्च अदालतले हस्तक्षेप गर्ने छैन भनि उल्लेख गरिएको छ ।
त्यस्तै उच्च अदालतको असाधारण अधिकार क्षेत्र सम्बन्धमा उस्तै व्यवस्थामा संविधानको धारा १४४ (२) मा गरिएको छ ।
असाधारण अधिकार क्षेत्र अन्तर्गत सर्वोच्च अदालत तथा उच्च अदालतले जारी गर्ने आदेशहरु:
• बन्दीप्रत्यक्षीकरणः गैरकानूनी प्रक्रियामा थुनामा रहेकोलाई मुक्त गर्ने आदेश ।
• परमादेशः कानुनद्वारा तोकिए बमोजिम गर्नु / गराउनु भनि . दिइने आदेश ।
• उत्प्रेषणः कानुन विपरित भइसकेको काम बदर गर्न दिइने आदेश ।
· प्रतिषेधः कानुन विपरित हुन लागेको वा भइरहेको काम रोक्न दिइने आदेश ।
. अधिकारपृच्छाः कानुनीप्रक्रिया विपरित पदमा बसेकोमा पदबाट हट्न दिने आदेश ।
अन्य उपयुक्त आदेश: आवश्यकतानुसार अन्य उपयुक्त आदेश जारी गर्ने । सारवान कानून र कार्यविधि कानून
सारवान कानून (Substantive law)
व्यक्तिका हक अधिकारको सृजना गर्ने कानूनलाई सारवान कानून भनिन्छ। यसले वास्तविक न्यायको अनुभूति दिलाउँछ । यसले हकदैयाको सृजना गर्दछ । यसले व्यक्तिको हक, अधिकार, पद, प्रतिष्ठा, धन, सम्पत्ति आदिको हरण भएमा दिलाउँछ । व्यक्तिको स्वतन्त्रता र समानताको संरक्षण गर्दछ ।
व्यक्तिको स्वतन्त्र रुपमा बाँच्ने, हिडडुल गर्ने, धन सम्पत्ति आर्जन गर्ने, भोग र उपयोग गर्ने अधिकारको प्रत्याभूति गर्दछ। शान्तिपूर्ण जीवनयापनद्वारा आफ्नो व्यक्तित्व विकास गर्ने अवसर उपलब्ध गराउँदछ । यसले आफ्नो अधिकारको संरक्षण गर्ने क्रममा अरु व्यक्तिको अधिकारको सम्मान गर्नुपर्ने कर्तव्य र दायित्व पनि निर्धारण गर्दछ।
कार्यविधि कानून (Procedural Law)
सारवान कानूनद्वारा सृजना गरिएका हक अधिकारको हनन भएको अवस्थामा सोको उपचार वा प्रचलनको लागि अवलम्बन गरिने कानूनलाई कार्यविधि कानून भनिन्छ। विशेष गरी मुद्दा मामिला वा विवादको निरोपणका रोहमा साधिकार निकायबाट बाध्यात्मक रुपमा पालना वा लागू गरिने कानून नै कार्यविधि कानून हो ।
कार्यविधि कानूनको उपेक्षा गरिएको वा सोको पालना वा अवलम्बन नगरिएको निर्णयले वैधता पाउन सक्दैन अर्थात त्यस्तो निर्णय त्रुटीपूर्ण मानिन्छ। कार्यविधि कानूनले विवादको निरोपण प्रकृयामा एकरुपता कायम गर्नुको साथै निर्णय प्रकृयामा सरल र बोधगम्य मार्गदर्शन गर्दछ । यसबाट न्यायिक प्रकृयाको निश्चितता तथा स्वच्छ न्यायको प्रत्याभूति हुन्छ ।
सारवान कानून र कार्यविधि कानून विच भिन्नताहरु:
सारवान कानून (Substantive law)
१) यसले व्यक्तिको हक अधिकार र दायित्व सृजना गर्छ ।
२) यसले अपराधको घोषणा र सजायको निर्धारण गर्छ ।
३) यो वास्तविक न्याय हो ।
४) यसमा कुनै विशेषणको आवश्यकता हुदैन ।
५) यसको स्वतन्त्र अस्तित्व हुन्छ ।
६) यो कानूनको उत्पत्ति कार्यविधि कानून भन्दा पहिला हुन्छ । ७) यो साध्य (Ends) हो ।
८) यसमा क्षेत्राधिकाको प्रश्न उठ्न सक्दैन ।
९) यो अदालती कारवाहीसँग सम्बन्धित हुदैन ।
१०) उदाहरणः संविधान, मुलुकी संहिताहरु, ऐनहरु
कार्यविधि कानून (Procedural Law)
१) यसले हक अधिकार प्रचलन गराउनका लागि प्रक्रिया
निर्धारण गर्छ।
२) यसले सजाय दिलाउने प्रकृया निर्धारण गर्छ।
३) यो वास्तविक न्याय नभई न्याय प्राप्त गर्ने माध्यम हो ।
४) यसमा छिटो छरितो, सरल, सुलभ, कम खर्चिलो आदि
जस्ता विशेषण रहन्छन्।
५) यसको स्वतन्त्र अस्तित्व हुदैन।
६) यो कानूनको उत्पत्ति सारवान कानूनभन्दा पछि हुन्छ।
७) यो साधन (Means) हो।
८) यसमा क्षेत्राधिकारको प्रश्न उठ्न सक्छ।
९) यो अदालती कारवाहीसँग सम्बन्धित हुन्छ ।
१०) उदाहरणः मुलुकी कार्यविधि संहिता, नियमावलीहरु, कार्यविधिहरू
निष्कर्ष: सारवान कानूनले सृजना गरेका हक र अधिकारहरु हनन भएमा कार्यविधि कानूनले प्रचलन गराउन सघाउने हुँदा यी दुवै कानून एक अर्काका परिपुरक हुन् एकको अभावमा अर्को अधुरो रहन्छ । सारवान कानूनलाई रुखमा फलेको फल र कार्यविधि कानून त्यसलाई टिप्न जाने भयङसँग तुलना गर्न सकिन्छ। सारवान कानूनको उद्देश्य पूर्ति गर्ने माध्यम नै कार्यविधि कानून हो । तसर्थ यी दुईको सम्बन्ध अन्योन्याश्रीत रहेको छ ।c
१३ वैशाख २०८१, बिहीवार १२:०६ बजे प्रकाशित