NIC ASIA Bank Long Ad

समानुपातिक निर्वाचनमा नेकपा (एस)को बढी खर्च

 प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ ‘थ्रेसहोल्ड’ कटाउन नसकेर समानुपातिक सिट पाउनबाट वञ्चित नेकपा (एकीकृत समाजवादी)ले सो निर्वाचनमा सबैभन्दा बढी खर्च गरेको छ । आयोगले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको समानुपातिकतर्फ राजनीतिक दलले गरेको खर्च विवरण बुझाउन माघ ३ गतेसम्मको समयसीमा तोकेको थियो ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले प्रतिनिधि सभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूची पेस गरेका ४७ वटै दलले खर्च विवरण बुझाएको बताउनुभयो । स्थानीय निर्वाचनमा खर्च विवरण नबुझाउने एक लाख २३ हजार उम्मेदवारलाई आयोगले कारबाहीको दायरामा ल्याएपछि राजनीतिक दलले समयसीमाभित्रै खर्च विवरण बुझाएका हुन् ।

आयोगमा बुझाइएको विवरणअनुसार नेकपा (एकीकृत समाजवादी)ले समानुपातिकतर्फको निर्वाचन प्रचार प्रसारमा एक करोड ९० लाख ८९ हजार पाँच सय रुपियाँ खर्च गरेको छ । राजनीतिक दलसम्बन्धी ऐन–२०७३ मा प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ कम्तीमा तीन प्रतिशत मत र पहिलो निर्वाचित हुने निर्वाचन प्रणालीमा एक सिट प्राप्त गर्ने दलले मात्र राष्ट्रिय दलको मान्यता पाउने व्यवस्था छ । त्यसैगरी प्रतिनिधि सभाको समानुपातिकतर्फ कम्तीमा एक सिट प्राप्त गर्न बन्दसूची पेस गरेका दलले ३ प्रतिशत मत पाएको हुनुपर्छ ।

नेकपा (एकीकृत समाजवादी)ले समानुपातिकतर्फ दुई लाख ९८ हजार ३९१ मत पायो । समानुपातिकतर्फको ‘थ्रेसहोल्ड’ पूरा गर्न सो दललाई करिब पाँच हजार मत अपुुग भयो । सो दलले समानुपातिकतर्फको ११० सिटमध्ये १०४ सिटमा उम्मेदवारी दिएको थियो । जसबमोजिम नेकपा (एकीकृत समाजवादी)ले समानुपातिकतर्फ दुई करोड आठ लाख रुपियाँ खर्च गर्न पाउने सीमा तोकिएको थियो ।

समानुपातिक निर्वाचन प्रणालीमा ५५ राजनीतिक दलले भाग लिन निर्वाचन आयोगमा दल दर्ता गराएका थिए । जसमध्ये आठवटा दलले बन्दसूची पेस गरेनन् । बन्दसूची पेस नगर्ने र उम्मेदवारै नहुने दलले खर्च विवरण बुझाउन नपर्ने व्यवस्था छ । राजनीतिक दलले बन्दसूचीमा पेस गरेको उम्मेदवारको सङ्ख्याका आधारमा प्रतिउम्मेदवार दुई लाख खर्च गर्न पाउने सीमा तोकिएको थियो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले दोस्रो सबैभन्दा बढी खर्च गरेको छ । सो दलले १०६ सिटमा उम्मेदवारी दिएकोमा एक करोड ८९ लाख खर्च भएको विवरण आयोगमा बुझाएको छ । नेपाली कांग्रेसले एक करोड ५५ लाख ३२ हजार ५७८ रुपियाँ खर्च भएको विवरण बुझाएको हो ।

नेकपा (एमाले)ले एक करोड ३३ लाख २६ हजार ६९३ रुपियाँ ४५ पैसा खर्च गरेको छ । आयोगका अनुसार समानुपातिकतर्फ सिट जितेर सबैभन्दा कम खर्च गरेको दल जनमत पार्टी हो । सो दलले बुझाएको विवरणबमोजिम उसले समानुपातिकतर्फ तीन लाख ८८ हजार रुपियाँ खर्च गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले ३६ लाख ८६ हजार २२५ रुपियाँ र जनता समाजवादी पार्टी, नेपालले ३५ लाख रुपियाँ खर्च भएको विवरण आयोगमा बुझाएको छ ।

प्रतिनिधि सभामा १२ वटा राजनीतिक दलको प्रतिनिधित्व भएकोमा सातवटा दलले मात्रै राष्ट्रिय दलको मान्यता पायो । प्रत्यक्षतर्फ कम्तीमा एक सिट जिते पनि नेकपा (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीको समानुपातिकतर्फ प्रतिनिधित्व हुन सकेन ।

दस जना उम्मेदवारको बन्दसूची पेस गरेको बहुजन शक्ति पार्टीले भने समानुपातिक निर्वाचन प्रणालीको प्रचार प्रसारका लागि खर्च नै गरेन । सो दलले आयोगमा बुझाएको विवरणमा शून्य खर्च भएको उल्लेख गरेको छ । गोरखापत्रबाट ।

१० माघ २०७९, मंगलवार ११:०१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु