NIC ASIA Bank Long Ad

प्रदेश सभा सदस्यमा निर्वाचित मोक्तानले जनतासँग गरेको बाचा पुरा गर्ने

हेटौंडा, ७ मंसिर/नेकपा माओवादी केन्द्रकी पोलिटब्युरो सदस्य तथा मकवानपुर इन्चार्ज कुमारी मोक्तान प्रतिनिधिसभा क्षेत्र नम्बर २ को प्रदेश सभा क बाट प्रदेश सभा सदस्यमा बिजयी हुनुभएको छ ।

१६ वर्षको उमेरमै तत्कालिन नेकपा माओबादीले संचालन गरेको जनयुद्धमा होमिएकी महिला लडाकु कुमारी मोक्तानले चौथो पटक संसदको यात्रा तय गर्नुभएको हो । बाम लोकतान्त्रिक गठबन्धनबाट प्रदेश सभा सदस्य उम्मेद्वार बन्नुभएको मोक्तानले नेकपा एमालेका विष्णु प्रसाद ढकाललाई ३ सय २२ मतले पराजित गरी विजयी हुनुभएको हो ।
कुल ४६ हजार १०७ मत खसेको यस क्षेत्रमा मोक्तानले १९ हजार ८ सय ७३ र ढकालले १९ हजार ५ सय ७१ मत प्राप्त गरेका थिए ।
जितपछि प्रतिक्रिया दिँदै मोक्तानले यो जित समग्र मकवानपुरको जित भएको बताउनुभयो । उहाँले आफ्नो पाँच वर्षको कार्यकाल यसै क्षेत्रको विकास र समृद्धिमा खर्च गर्ने बताउनुभयो । मोक्तानले भन्नुभयो, ‘चुनाब प्रचारप्रसारका क्रममा जनतासँग गरेको बाचा पुरा गर्नेछु ।’
तत्कालिन नेकपा माओवादीले २०५२ सालमा सशस्त्र युद्ध सुरु गरे लगत्तै मोक्तान विद्यालय शिक्षा छाडेर जनयुद्धमा सहभागी हुनुभएको थियो । २०३६ सालमा जन्मिनुभएको मोक्तानले २०५० सालमा विद्यार्थीबाट राजनैतिक यात्रा सुरु गर्नुभएको थियो । त्यसको केहि समयपछि अखिल नेपाल महिला संघ (क्रान्तिकारी) मा संगठित हुनुभएको थियो । २०५६ सालमा तत्कालिन शाही नेपाली सेनाबाट पक्राउ पर्नुभएको मोक्तान २०५८ मा रिहा हुनुभएको थियो ।
२०५९ मा मकवानपुर जिल्ला पार्टी सचिव भएको मोक्तान २०६० मा पार्टीको क्षेत्रीय ब्युरो सचिव हुँदै २०६१ मा तामाङ मोर्चाको केन्द्रीय उपाध्यक्ष र मकवानपुरको पार्टीको तत्कालिन जनसरकार प्रमुख बन्नुभयो ।
मोक्तान शान्ति सम्झौतापछि २०६३ सालमा विधायीका सदस्य मनोनित हुनुभयो। मोक्तान २०६४ सालमा तत्कालिन मकवानपुर ४ नम्बर निर्वाचन क्षेत्रबाट संविधानसभा सदस्य निर्वाचित हुनुभयो । २०७४ को प्रदेशसभा निर्वाचनमा उहाँ यसै क्षेत्रबाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको मोक्तान २०७८ मा बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्री समेत बन्नुभयो।

७ मंसिर २०७९, बुधवार २३:५७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु