NIC ASIA Bank Long Ad

उम्मेदवारी दर्तासँगै निर्वाचनको बढ्यो चहलपहल

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता सम्पन्न भएसँगै महोत्तरीमा राजनीतिक चहलपहल ह्वात्तै बढेको छ । आइतबार दल र स्वतन्त्र उम्मेदवारले मनोनयनयनपत्र दर्ता गराएसँगै यहाँको राजनीतिक माहोल तताएको हो । जिल्लामा विभिन्न दलका उपल्लो तहका नेताको उम्मेदवारीले राजनीतिक माहोललाई झनै तताएको छ । महोत्तरी–३ मा लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुर र जसपा हरिनारायण यादव, महोत्तरी–१ मा नेकपा (माओवादी केन्द्र)का गिरिराजमणि पोखरेल, महोत्तरी–२ मा शरतसिंह भण्डारी, महोत्तरी–४ मा जसपा डा सुरेन्द्रकुमार यादव र नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेन्द्रकुमार रायले प्रतिनिधिसभा सदस्य पदका लागि मनोनयनपत्र दर्ता गराउनुभएको छ ।

त्यसैगरी नेकपा (एमाले)का रामदयाल मण्डल र सरोज यादवले क्रमशः महोत्तरी–३ ‘ख’ र महोत्तरी–४ ‘क’ बाट प्रदेशसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ । जिल्लाका चार प्रतिनिधिसभा र आठ प्रदेशसभा क्षेत्रमा गरी जम्मा दुई सय ३६ जनाको उम्मेदवारी दर्ता भएको छ । तीमध्ये महोत्तरी–१ प्रतिनिधिसभातर्फ १६ र दुईवटा प्रदेशसभातर्फ ३९ जनाले उम्मेदवारी दर्ता गराउनुभएको छ । महोत्तरी–१ (क) मा १६ र महोत्तरी–१ (ख) मा २३ जना प्रदेशसभाका उम्मेदवार दर्ता भएका निर्वाचन अधिकृतको कार्यालय महोत्तरी–१ बर्दिबासले जनाएको छ । यसैगरी महोत्तरी–२ मा प्रतिनिधिसभातर्फ १७ जनाको उम्मेदवारी दर्ता भएको छ । प्रदेशसभातर्फ महोत्तरी–२ (क) मा २० र (ख) मा २१ जनाको दर्ता भएको निर्वाचन अधिकृतको कार्यालय महोत्तरी–२ बलवाका निर्वाचन अधिकृत अरुण झाले जानकारी दिनुभयो ।

त्यस्तै महोत्तरी–३ मा प्रतिनिधिसभातर्फ २१ जना र प्रदेशसभातर्फ (क) मा १३ र (ख) मा २८ जनाले उम्मेदवारी दर्ता गराउनुभएको मुख्य निर्वाचन अधिकृत हेमबहादुर सेनले बताउनुभयो । महोत्तरी–४ का लागि प्रतिनिधिसभातर्फ १५ र प्रदेशसभातर्फ (क) मा २६ र (ख) मा २० जनाको उम्मेदवारी दर्ता भएको सो क्षेत्रका निर्वाचन अधिकृत दशरथ गौतमले जानकारी दिनुभयो । आसन्न निर्वाचनका लागि राजनीतिक दलतर्फबाट सत्तारुढ गठबन्धन र लोसपाबीच एवं एमाले र जसपा नेपालबीच तालमेल देखिएको छ । यसका अतिरिक्त जनमत पार्टी, राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीसहितका उम्मेदवारले मनोनयनपत्र दर्ता गराएका छन् । जिल्लाका सबै क्षेत्रमा स्वतन्त्र उम्मेदवारको उल्लेख्य सङ्ख्या देखिएको छ । निर्वाचनसम्बन्धी महत्वपूर्ण पाटो उम्मेदवारी दर्ता सम्पन्न भएपछि सर्वसाधारण जितहारको अड्कलबाजी गर्दै भेटिन्छन् ।

यता दलहरु आ–आफ्ना समीकरणका दलहरूबीच मतदानसम्म सहमतिअनुसार अघि बढ्नुपर्ने प्रतिबद्धतासाथ चुनावी प्रतिस्पर्धा कलाका विभिन्न आयामबारे सघन छलफलमा जुटेका छन् । आउने मङ्सिर–४ गते सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्लामा यसपटक तीन लाख ९७ हजार ३० मतदाता कायम भएका छन् । जसमध्ये पुरुष दुई लाख १५ हजार एक सय ३१, महिला एक लाख ८१ हजार आठ सय ९८ र अन्य (तेस्रोलिङ्गी) मा एक मतदाता दर्ता रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । क्षेत्रगतरूपमा सबैभन्दा बढी मतदाता जिल्ला सदरमुकामसमेत रहेको क्षेत्र नं ३ मा ९९ हजार नौ सय ३०, क्षेत्र नं २ मा ९९ हजार सात सय सात, क्षेत्र नं ४ मा ९८ हजार आठ सय ९६ र क्षेत्र नं १ मा ९८ हजार चार सय ९७ जना कायम रहेका कार्यालयले जनाएको छ ।

जिल्लाका चारवटै प्रतिनिधिसभा क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएर तालिकाअनुसारका गतिविधि अघि बढेका छन् । चुनावलक्षित सुरक्षा योजना र आवश्यक तयारी भइरहेको जिल्लाका प्रमुख जिल्ला अधिकारी दीपक पहाडीको भनाइ छ । आसन्न निर्वाचनका लागि नेपाल प्रहरीका एक हजार पाँच सय र म्यादी प्रहरीका दुई हजार आठ सयलाई खटाइसकिएको प्रजिअ पहाडीले बताउनुभयो । यसका अतिरिक्त आवश्यकताअनुसार नेपाली सेना र सशस्त्र प्रहरी परिचालित गरिने जनाइएको छ ।

२४ असोज २०७९, सोमवार ११:२८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु