नेपाल ल क्यापसमा पुस्तक हस्तान्तरण–पठन संस्कृतिको विकास गर्ने प्रतिवद्धता
‘पुस्तौं पुस्ताका लागि पुस्तकालय’ भन्ने आदर्श वाक्यका साथ सोह्रौँ राष्ट्रिय पुस्तकालय दिवस नेपाल ल क्यापसमा भव्यरूपमा मनाइएको छ । सो अवसरमा क्याम्पस प्रमुख डि.एन. पराजुलीको अध्यक्षता एवं सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको आतिथ्यमा भएको “पुस्तक हस्तान्तरण कार्यक्रम” मा वरिष्ठ अधिवक्ता राघवलाल वैद्यले निजी पुस्तकहरु प्रदान गर्नुभयो ।
तस्बिरः नेपाल ल क्याम्पसको आधिकारिक फेसबुक पेजबाट लिइएको हो ।
पठन संस्कृतिको विकास र नयाँ पुस्तालाई पुस्तकालयप्रति आकर्षित गर्न क्याम्पसको सभाहलमा भएको कार्यक्रममा पुस्तकले सामाजिक, शैक्षिक, सांस्कृतिक क्षेत्रमा योगदान गर्ने र समाजमा चेतनाको विकास गर्ने अनेकन महत्वबारे वक्ताहरूले धारणा राख्नुभयो ।
कार्यक्रममा स्ववियु नेपाल ल क्याम्पसको सभापति विष्णु ढुङ्गेलले पुस्तक हस्तान्तरणले विद्यार्थीको ज्ञानमा सहयोग पुग्ने बताउनुभयो । “त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आंगिक क्याम्पसहरूमध्यको नेपाल ल क्याम्पसको पुस्तकालय उत्कृष्ट पुस्तकालय भएकाले यसको संरक्षण गरि कानुनी क्षेत्रका महत्वपूर्ण दस्तावेज राख्न र संस्कृति निर्माण गर्नमा हामी निरन्तर लाग्ने छौँँ– उहाँले भन्नुभयो ।”
तस्बिरमा स्ववियु नेपाल ल क्याम्पसको सभापति विष्णु ढुङ्गेल मन्तव्य राख्नुहुँदै ।
कार्यक्रममा त्रि.वि. कानून संकायका डीन कृष्णप्रसाद पराजुली, सहायक डीनद्वय विनोद बस्याल र ज्ञानेश्वर पराजुली लगातको उपस्थिति थियो । स्मरणरहोस् तत्कालीन राजा गीर्वाणयुद्ध विक्रम शाहले ‘पुस्तक चिताइ तहविल’ नाममा पुस्तकालय स्थापन गर्न लालमोहर जारी गरेको दिन (१८६८ भाद्र १५ ) लाई स्मरण गर्दै प्रत्येक वर्ष भाद्र १५ गते राष्ट्रिय पुस्तकालय दिवस मनाउँदै आइएको छ । यसलाई पछिल्लो समयमा साताब्यापिरूपमा मनाउने संस्कृतिको विकास भएको हो ।
१८ भदौ २०८०, सोमवार १९:५३ बजे प्रकाशित