NIC ASIA Bank Long Ad

‘लैङ्गिक संवेदनशील मिडिया निर्माण’ कार्यशाला सम्पन्न

प्रेस काउन्सिल नेपालको आयोजना तथा युनेस्कोको सहयोगमा लैङ्गिक संवेदनशील मिडिया निर्माणमा सङ्घ संस्थाहरूको भूमिका विषयक एक दिने कार्यशाला काठमाडौँमा सम्पन्न भएको छ ।

कार्यशालाको उद्घाटन सत्रमा बोल्दै प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले लैङ्गिक संवेदनशील मिडिया निर्माणको लागि काउन्सिल सदैव प्रयत्नशील रहेको बताउनुभयो । उहाँले काउन्सिलले निर्देशिकाको निर्माण र कार्यान्वयन गरी मिडियालाई लैङ्गिकमैत्री बनाउने संवेदनशील बनाउने प्रयत्न गरेको बताउनुभयो । काउन्सिलले जारी गरेको महिला सञ्चार निर्देशिकाको परिमार्जनका विज्ञहरूको सुझाव लिन युनेस्कोसँगको सहकार्यमा भएको बुधबारको कार्यशालाबाट प्राप्त सुझाव महत्वपूर्ण हुने उहाँको भनाइ थियो ।

कार्यशालामा बोल्दै नेपाल पत्रकार महासङघका अध्यक्ष विपुल पोख्रेलले लैङ्गिक सवाल महिलाको मात्र नभइ सबैको साझा मुद्दा हो भन्नेतर्फ सजग रहनुपर्ने बताउनुभयो । उहाँले नागरिक समाज सचेतताको विषयमा मिडियाले मूल्याङ्कन गरी सम्बन्धित पक्षको ध्यानाकर्षण गराउने भएको प्रष्ट पार्नुभयो । पोख्रेलले लैङ्गिक संवेदनशीलताका क्षेत्रमा पत्रकार महासङ्घबाट समेत महिला निर्देशिका पालना गर्न र महिलामैत्री वातावरण निर्माण गर्न पहलकदमी भइरहेको उल्लेख गर्नुभयो ।

कार्यशालाको उद्घादन सत्रको सहजीकरण काउन्सिलका सदस्य ठाकुर बेलबासेले गर्नुभएको थियो । कार्यक्रममा काउन्सिलका सदस्य दीपक पाण्डे, राष्ट्रिय समाचार समितिका महाप्रबन्धक सिद्धराज राइ लगायतले मन्तव्य राख्दै मिडियालाई लैङ्गिकमैत्री बनाउन आफूहरूको साथ रहने बताउनुभयो ।

एकदिने कार्यशालामा काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले “लैङ्गिक संवेदनशील मिडिया नीति निर्माण र कार्यान्वयनमा प्रेस काउन्सिलको भूमिका” विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । यस्तै डा. समीक्षा कोइरालाले “मिडियामा लैङ्गिकताका विषय र महिला उत्तरदायी सञ्चार निर्देशिका” विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । पत्रकार कृष्णा पौडेलले “नेपाली सञ्चार माध्यममा लैङ्गिक संवेदनशीलता” विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको कार्यक्रममा पत्रकार नितु पण्डितले “मिडिया, लैङ्गिकता र सामाजिक सङ्घसंस्था” विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

अन्तरक्रियामा काउन्सिलले गरिरहेको अनुगमन र कारबाहीका सम्बन्धमा उठेका सवालबारे मुख्य अधिकृत झबिन्द्र भुसालले प्रष्ट पार्नुभएको थियो । फरक फरक समूह बनाइ विषयगत छलफल भएको कार्यक्रममा लैङ्गिक तथा महिलाका क्षेत्रका क्रियाशील विभिन्न सङ्घसंस्थाका ५७ जना सहभागी थिए ।

१४ मंसिर २०७९, बुधवार १९:१२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु