NIC ASIA Bank Long Ad

निर्वाचनमा कसले कतिसम्म खर्च गर्न पाउनेछन् ?

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले उम्मेदवारले गर्न पाउने खर्चको सीमा निर्धारण गरेको छ। निर्वाचनका बेला उम्मेदवारले गर्ने अस्वाभाविक खर्चलाई नियन्त्रण गर्न आयोगले खर्चको सीमा तोकेको हो। भूगोल र मतदाताको संख्याका आधारमा आयोगले प्रतिउम्मेदवार २५ लाख रुपैयाँदेखि ३३ लाख रुपैयाँसम्म खर्च गर्न पाउने गरी सीमा तोकेको छ।

आयोगले निर्धारण गरेको खर्चको सीमाअनुसार प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचनमा ३१ लाख रुपैयाँसम्म खर्च गर्न पाउने भएका छन्। प्रतिनिधिसभामा प्रत्यक्षतर्फ डडेलधुराबाट उम्मेदवार बनेका देउवाको निर्वाचन क्षेत्रमा ९१ हजार हाराहारी मतदाता छन्।

यसैगरी पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पनि ३१ लाख रुपैयाँ खर्च गर्न पाउनेछन्। ओली झापा–५ बाट प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फको उम्मेदवार बन्दैछन्। यो निर्वाचन क्षेत्रमा १ लाख ५४ हजार मतदाता छन्।

त्यस्तै इलाम–१ बाट उम्मेदवार बनेका एकीकृत समाजवादीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले ३१ लाख रुपैयाँसम्म खर्च गर्न पाउनेछन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ३१ लाख रुपैयाँसम्म खर्च गर्न पाउनेछन्। उनको निर्वाचन क्षेत्र झापा–३ मा १ लाख ३१ हजार मतदाता छन्। यो निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलासमेत उम्मेदवार छन्।

तनहुँ १ बाट उम्मेदवार बनेका कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, इलाम–२ बाट एमालेका उम्मेदवार सुवास नेम्बाङ र रुकुम पश्चिमबाट उम्मेदवारबाट माओवादी केन्द्रका नेता जनार्दन शर्माले पनि ३१ लाख रुपैयाँसम्म खर्च गर्न पाउनेछन्।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले २९ लाख रुपैयाँसम्म खर्च गर्न पाउने भएका छन्। उनी गोरखा–२ का उम्मेदवार बनेका छन्। यो क्षेत्रमा १ लाख ५ हजार मतदाता छन्।

त्यस्तै एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले निर्वाचनको प्रचारप्रसारमा अधिकतम २९ लाख रुपैयाँसम्म खर्च गर्न पाउनेछन्। उनी रौतहट–१ बाट उम्मेदवार बनेका छन्। यो निर्वाचन क्षेत्रमा १ लाख मतदाता छन्।

यसैगरी लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले २९ लाख रुपैयाँ खर्च गर्न पाउनेछन्। महोत्तरी–३ बाट उम्मेदवार रहेका ठाकुरको निर्वाचन क्षेत्रमा १ लाख हाराहारीमा मतदाता छन्।

मोरङ ६ बाट उम्मेदवार बनेका शेरख कोइराला, झापा १ बाट उम्मेदवार बनेका विश्वप्रकाश शर्मा, सप्तरी २ बाट उम्मेदवार बनेका उपेन्द्र यादव, सर्लाही २ बाट उम्मेदवार बनेका राजेन्द्र महतो र महोत्तरी ३ बाट उम्मेदवार बनेका महन्थ ठाकुरले पनि अधिकतममा २९ लाख रुपैयाँसम्म खर्च गर्न पाउने भएका छन्।

कांग्रेसबाट काठमाण्डौ ४ बाट उम्मेदवार बनेका गगन थापाले २७ लाख रुपैयाँसम्म र काठमाण्डौबाट उम्मेदवार बनेका प्रकाशमान सिंहले २५ लाख रुपैयाँसम्म खर्च गर्न पाउनेछन्।

२४ असोज २०७९, सोमवार ११:५३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु