NIC ASIA Bank Long Ad
Global IME Bank Long Ad

काठमाडौँ महानगर प्रमुखको निर्वाचनमा बालेनको प्रसंग

      दीर्घ बहादुर चन्द , आफ्नो उम्मेदवारी दर्ता गर्ने दौरानमा “द गेम इज ओभर” म निर्वाचित भैसकें तर प्रक्रिया पुर्याउन मात्र निर्वाचन गर्नुपर्ने बाध्यता छ भन्दै आफ्नो जीतमा ढुक्क र ओभर कन्फीडेन्ट रहेका एक पटक काठमाडौँको मेयर भैसकेका र मुलधारको राजनीतिमा “स्थापित” नेकपा एमालेका नेता केशवको उपर्युक्त घोषणा लाई काठमाण्डौ महानगरको स्थानीय निर्वाचनको प्रारम्भिक नतिजाले धक्का दिएको छ | आधा दर्जन वडाहरुको नतिजा आइसकेको छ र उक्त वडाहरुमा आफ्नो पकड मजबुत रहेको भनि घोषणा गर्ने मुलधारका राजनैतिक पार्टीका आधिकारिक उम्मेदवारहरु (केशव स्थापित – नेकपा एमाले र सिर्जना श्रेष्ठ – नेपाली कांग्रेस), पेशाले इन्जिनियर, प्रतिभाले -यापर गायक, गीतकार, निर्देशक कलाकार, उमेरले युवा बालेन्द्र साह “बालेन” तथा काठमाडौँ महानगरको मेयर पदका स्वतन्त्र उम्मेदवार भन्दा दशौ हजार मतान्तरले पछाडी रहेका छन् | यद्धपि मतगणना हुन बाकी वडाहरुको नतिजाले उलटफेर नभएमा “बालेन” काठमाण्डौका नयाँ मेयर हुनेछन् |

२०७९ बैसाख ३० गते भएको स्थानीय निर्वाचन छिटफुट घटना बाहेक शान्तिपूर्ण रहेको आम बुझाई रहेकोमा यो लेख प्रकाशित हुने बेला सम्म उक्त दिन विविध कारणले विभिन्न स्थानमा स्थगित मतदान सम्पन्न भैसकेको हुनेछ | निर्वाचन सम्पन्न भएको हप्ता दिन भैसक्दा पनि सम्पूर्ण नतिजा सार्वजनिक नहुनुले हाम्रो निर्वाचन प्रक्रियामा थुप्रै सुधार आवश्यक रहेको स्पष्ट हुन्छ | वर्तमान समयमा सूचना सम्प्रेषणको साथै समाजलाई आन्दोलित गर्न सक्ने साधनको रुपमा सामाजिक संजाल एक महत्वपूर्ण एवम् प्रभावकारी माध्यम रहेको छ | सामाजिक संजालमा सम्प्रेषित व्यंगात्मक शैलीमा प्रस्तुत गरिएको एक भाइरल पोष्टलाई आधार मान्नेहो भने हालको मतगणनाको गतिमा काठमाण्डौ महानगरको नतिजा सार्वजनिक हुन छ वर्ष भन्दा बढी लाग्ने देखाएको थियो जुन केहि हद सम्म विश्वास योग्य पनि छ किनकि लम्बेतान मतपत्रमा सयको हाराहारीमा रहेका चुनाव चिन्ह हरुमा लागेका छापहरु गन्न र सबै उम्मेदवारहरुका प्रतिनिधिहरुलाई मतपत्र देखाएर रुजु गर्न एक मतपत्र गन्न झन्डै २० मिनेट लाग्ने  भनिएको छ त्यस अर्थमा व्यंगात्मक भएपनि उक्त पोस्टले केहि न केहि प्रभाव छोडेको छ र निर्णायक तहमा बसेका व्यक्तिहरुलाई सोच्न बाध्य पारेको हुन सक्छ |

पंक्तिकार आफै पनि समाजशास्त्रको विद्यार्थी र हाल त्रिभुवन विश्वविद्यालय बाट एम. फिल. – पी. एचडी. कार्यक्रममा संलग्न अनुसन्धाता भएकोले वर्तमान स्थानीय तहको निर्वाचनको परिणामले समाज समक्ष आफ्नो अनुभव र ज्ञान राख्ने जमर्को गरेको छु |

बालेन किन चर्चित भए?

अन्य देशमा कलाकार हरुले राजनीतिमा पनि शिखर चुमेको भएतापनि नेपालमा हालसम्म कुनैपनि कलाकारले राजनीतिको शिखर चुम्न सकेका छैनन् यद्धपि केहि राजनैतिक पदहरु प्राप्त गर्न सफल भएका छन् | यसै सन्दर्भमा राजनीतिमा त्यति चर्चा नकमायेका बालेन्द्र साह “बालेन” एकाएक कसरि चर्चामा आए भन्ने प्रश्न सबैका लागि महत्वपूर्ण हुनसक्छ | बालेन चर्चामा आउनुका व्यक्तिगत, सामाजिक, राजनैतिक र विविध करणहरुलाई निम्नानुसार चर्चा गर्न सकिन्छ |

व्यक्तिगत कारण:

कुनै पनि सफलता प्राप्त गर्न व्यक्ति आफैमा सक्षम हुनुपर्छ | कसैको सहारा, आशिर्वाद, सहयोग र भाग्य आदि तपसिलका कुरा हुन् र तिनले पनि त्यसैलाई साथ दिन्छ जसले केहि प्रयास गर्दछ | बालेन चर्चित हुनु र काठमाण्डौका मतदाताहरुको प्रथम रोजाइमा पर्नु संयोग मात्र होइन उनीमा निम्नानुसारका गुणहरु छन्:

युवा: राज्यले १५ वर्ष सम्मलाई बालक, १५ देखि ४० वर्ष सम्मलाई युवा र ४० वर्ष भन्दा माथिलाई वयष्क भनि समुहिकृत गरेको छ | उनी ३१ वर्षे आकर्षक युवा हुन् र उनको व्यक्तित्वले जनमानसमा सकारात्मक उर्जा प्रवाह गरेको हुनाले नै उनी चर्चित हुन सहयोग पुगेको छ |

शिक्षित युवा: उनी शिक्षित युवा हुन् उनले स्वदेशमा सिविल इन्जिनियर डिग्री (स्नातक) हासिल गरेका छन् र विदेश(भारत) बाट structural engineering मा स्नातकोत्तर छन् तसर्थ उनी चर्चित छन् किनकि वर्तमान सन्दर्भमा हाम्रा कतिपय उच्च ओहोदामा विराजमान भएका र भैसकेका राजनैतिक व्यक्तिहरु उच्चस्तरको शैक्षिक योग्यता नभएका व्यक्तिहरु छन् |

कलाकार युवा: जो सुकैले शिक्षा आर्जन गर्नसक्छ तर जो सुकै कलाकार हुन् सक्दैन | कलाकार हुन केहि विशेष प्रतिभा हुनु आवश्यक छ | कलाकारिता एक थप योग्यता हो | उनी आफै -याप गीत रचना गर्ने, गाउने, कम्पोज गर्ने, विडियो बनाउन स्क्रिप्ट लेख्ने र निर्देशन दिने भएकोले उक्त योग्यता उनको थप निधि हो | कलाकार रचनात्मक हुन्छ र नयाँ नयाँ कुराको कल्पना गर्छ जसले समाजमा केहि योगदान गर्दछ |

स्पष्ट वक्ता: नेतृत्व गर्न आफ्नो अवधारणा सर्वसाधारणको बिचमा र आफ्नो समुहको बिचमा राख्नको लागि राम्रो वक्तृत्वकला हुनु जरुरि छ | अवधरणा बुझेको, राम्रो भाषा शैली र आत्मभरोषा भएको व्यक्तिले मात्र आफुलाई लागेका कुराहरु र आफुले गर्न चाहेको कुरा जनमानसमा राख्न सक्छ र प्रभाव पार्न सक्दछ साथै विकसित परिस्थितिको विश्लेषण गरि सोहि अनुरुप आफ्नो पक्षमा व्याख्या गर्न सक्नेले धेरै व्यक्तिलाई आकर्षित र प्रभावित पर्न सक्दछ | बालेनमा पनि उक्त गुण रहेको छ | मेयरका उम्मेदवारहरु सम्मिलित कुनै अन्तर्वार्तामा सबै उम्मेदवारहरुले आ-आफ्नो उम्मेदवारीको पैरवी गरि रहदा बालेनले आफु सबै उम्मेदवारको उत्कृष्ट गुणहरुको सम्मिश्रण हो भनेका छन् | स्थापित भनेको इन्जिनियर लाई दिएको पारम्परिक उपाधि हो त्यसैले म केशव स्थापितको इन्जिनियरको गुण भएको, मदनदास जस्तो कलाकारको गुण भएको, कुनै युवा उम्मेदवार जस्तो युवा भएको धेरै गुणले सम्पन्न उम्मेदवार भएकोले म आफैमा उम्मेदवारको कम्बोप्याक हो त्यसैले मतदाताको पहिलो रोजाई म नै हो भनि आफ्नो दावेदारी अरुको भन्दा दह्रो भएको तर्क पेश गरेका थिए |

घोचपेच नगर्ने र सकारात्मक सोच: हाम्रो देशका प्रधानमन्त्री भैसकेका कतिपय नेताहरुले पदीय आचरण नसुहाउने खालका घोच पेच र गाली गलौज गर्ने संस्कृतिको विकास गरेको परिप्रेक्षमा बालेनले कसैलाई घोचपेच र व्यंग्य नगरी आफ्नो दृष्टिकोण राखेका छन् | कसैको आफूप्रति लक्षित घोचपेचमा समेत संयमित टिप्पणी गरेर सकारात्मकताको संचार गरेका छन् साथै कसैले राम्रोकाम गरेको छ भने प्रसंसा समेत गरेका छन् |

विषयको गहन अध्ययन र तयारी: बालेनले भने अनुसार उनले मेयरको उम्मेदवारी कुनै लहडको भरमा बिना तयारी दिएका होइनन् | काठमाडौँ महानगरको मेयरको उम्मेदवार हुन पाँच वर्षको अध्ययन र तयारी गरेका छन् जुन उनको हरेक प्रस्तुतिमा स्पष्ट हेर्न र अनुभव गर्न सकिन्छ | उनले तयारीको क्रममा देशब्यापी भ्रमण गरेकाछन् विभिन्न पालिकाहरुको भ्रमण गरि अध्ययन गरेका छन् र विभिन्न बिज्ञ व्यक्तिहरुको सल्लाह लिएका छन् |

व्यक्तित्व पहिचान: व्यक्तिगत गोप्यताका बाबजुद सार्वजनिक पदमा जाने व्यक्तिको जीवनका धेरै पक्षहरुमा सर्वसाधारणको चासो रहन्छ त्यसैले निजको खानपान, रहनसहन, वानी व्यहोरामा धेरै ध्यान दिनुपर्दछ र आफ्नो व्यक्तिगत छुट्टै पहिचान कायम गर्न सक्नु पर्दछ | बालेनले आफ्नो दारी र चस्मालाई नै आफ्नो पहिचान बनाएका छन् | बजारमा बालेनले लगाउने चस्माको माग बढ्नु र बालेनको जस्तै दारी पाल्ने चाहना युवा पुरुषहरुमा बढ्नुले पनि बालेनको व्यक्तित्व र पहिचान प्रतिको आकर्षण दर्शाउंछ |

सूचना प्रविधिको ज्ञान र प्रयोग: वर्तमान युग सूचना र प्रविधिको युग हो | चालिस वर्ष कटेको पुस्ता भन्दा चालिस नकटेको पुस्ता सूचना प्रविधिको प्रयोगमा बढी दक्ष रहेको र त्यो भन्दा पनि नवयुवा पुस्ता अझै पोख्त र परिस्कृत रहेको यथार्थमा बालेनले बुवा पुस्ताका आफ्ना प्रतिस्पर्धी उम्मेदवारहरु भन्दा निश्चित रुपमा सूचना प्रविधिको राम्रो उपयोग गरेका छन् र आफुलाई सोहि अनुरुप प्रभावकारी रुपमा मतदाता सामु प्रस्तुत भएका छन् |

सामाजिक कारण

बालेनलाई चर्चित हुन सहयोग हुने केहि सामाजिक कारणपनि छन् जसले छोटो समयमा नै काठमाण्डौका अधिकांश मतदातामाझ बालेनलाई पु-यायो र देशभरि नै चर्चित बनायो |

परम्परागत राजनैतिक शक्ति: नेपालमा विद्यमान सबै राष्ट्रिय राजनैतिक पार्टीहरु कुनै न कुनै काल खण्डमा सरकारमा सहभागी भैसकेका छन् र परीक्षण हुन बाँकी शक्तिहरु छैनन् भन्दापनि हुन्छ | आफुलाई वैकल्पिक शक्ति भन्ने राजनैतिक पार्टीहरुले आफ्नो हैसियत बढाउन सकेका छैनन् | चाहे प्रजातान्त्रिक शक्ति होस् वा वामपन्थी शक्ति कसैले पनि जनपक्षीय रुपमा प्रस्तुत हुन सकेनन् र तिनको आकर्षण निरन्तर क्षीण हुदै गएको सन्दर्भमा जनतालाई विशेषगरी काठमाण्डौका जनतालाई परीक्षण गर्ने मौका बालेनले प्रस्तुत गरेका छन् | नानी मैय्या दाहाल र गोल्छे शार्की जस्ता व्यक्तित्वहरुलाई पनि काठमाडौँका जनताले नै आफुलाई प्रमाणित गर्ने मौका दिएकै हुन् |

पार्टी राजनीति बाट वाक्क दिक्क

२०४६ साल पछीका ३३ वर्षे राजनैतिक उतार चढावले जनतालाई राहत दिन सकेन बरु देशमा अस्थिरता पैदा ग-यो | जनताले यसपछि अब के हुन्छ भनेर अनुमान गर्ने बाहेक कुनै नयाँ अनुभूति गर्न सकेनन् | देश महंगी, भ्रष्टाचार, बेरोजगारी को भुमरीमा फस्दै गयो भने राष्ट्रियताको सवालमा झन् झन् कम्जोर हुदै गयो | नातावाद, कृपावाद र फरियावादको सिलसिला निरन्तर चलिरह्यो र हालको उम्मेदवार चयनमा समेत सोहि सिलसिला दोहोरियो | पार्टीको उपर्युक्त क्रियाकलापबाट वाक्क दिक्क भएका जनताले नयाँपन प्रयोग गर्ने जमर्को गरे जसको प्रत्यक्ष फाइदा बालेनलाई भयो र चर्चित हुन पुगे | पार्टीहरुले योग्यता भन्दा पनि उम्मेदवारको ढुंगामुढा गर्ने क्षमता, हुल हुज्जत गर्ने क्षमता, अन्धभक्ति गर्ने प्रबृत्ति आदिलाई प्राथमिकता दिएको कारणनै बालेनको लागि शुभ संकेत ठहरिए |

पुराना उम्मेदवार हरुको हेपाहा प्रबृत्ति

परम्परागत पार्टीका पुराना र कामले भन्दा पनि घामले पाकेका बरिष्ट बाउ बाजेका पुस्ताका उम्मेदवारहरुले आफुले निश्चित रुपमा जित्ने, आफ्नो पार्टीको पकड रहेको, फुच्चे बालेनले केहि फरक पर्दैन भनि आत्मरतिमा रमाइरहे जसको प्रत्यक्ष फाइदा बालेनलाई भै नै रह्यो |

संचार क्षेत्र र सामाजिक संजालको कारण

चर्चित -यापर भएको कारण बालेन संचार जगतकालागि नौलो नाम थिएन | बालेनले आफ्नो उम्मेदवारी घोषणा गर्नासाथ नामचलेका मिडिया हाउसहरुले बालेनलाई प्रोमोट गरिदिए | राम्रो तयारीका साथ प्रस्तुत भएका बालेनले उक्त मौकालाई राम्रै उपयोग गरे र माहौल लाई आफ्नो पक्षमा पार्न सफल भए | बालेनको चर्चालाई अझै केशव स्थापितले उचाइमा पु-याईदिए | सामाजिक संजालमा चुर्लुम्म र हात हातमा स्मार्ट फोन बोक्ने आजका सचेत स्मार्ट युवाहरु आफ्नो -यापर आइकोनलाई राजनीतिमा स्वागत गर्न तत्पर रहे र आफै पनि बालेनको शक्तिको रुपमा प्रचार प्रसारमा होमिए |

बाह्य शक्तिको चलखेल भन्ने प्रबृत्ति

नेपालमा जसले भारतको विरोध गर्छ उसलाई राष्ट्रवादीको बिल्ला भिराइन्छ | माओवादीले पनि चर्चित हुन भारत विरुद्ध सुरुंग युद्ध घोषणा गरेकै हो | भारतको विरोध गरेकै कारणले मात्र भूतपूर्व प्रधानमन्त्री के. पी. ओलीलाई राष्ट्रवादी नेता भनि बिगतको चुनावमा नेपाली जनताले जितायेकै हो | नेपाली जनताको नेपालमा घट्ने जस्तो सुकै घटनामा पनि बाह्य शक्तिको हात रहेको हुन्छ भन्ने मनासिकता पनि त्यसको कारक हुनसक्छ | नेपालका विभिन्न पार्टी, व्यक्ति र संस्थाहरु मध्ये कसैलाई भारत परस्त त कसैलाई “र” को जासुस, कसैलाई अमेरिका त कसैलाई युरोपियनको पिछलग्गु भनिएकै हो | यसै सन्दर्भमा बालेनलाई पनि कसैले राजाको मान्छे त कसैले माओवादीको क्याडर भनेकै छन् त्यस्तै कसैले बालेनलाई भारत, अमेरिका वा कुनै बाह्य शक्ति बाट संचालित र परिचालित पनि भन्न भ्याईसकेका छन् | वास्तविकता भविष्यमा उजागर हुँदैजाला तर जे सुकै भएपनि यो चुनावमा यस्ता शंका उपशंकाले बालेनलाई चर्चित हुन मलजल गरेको छ र मतदाता तान्न प्रत्यक्ष परोक्ष रुपमा सहयोग गरेकै हो |

समाज परिवर्तनको संकेत

देश संचालन गर्न राजनैतिक संस्था वा पार्टी वा संयन्त्र आवश्यक हुन्छ | स्वतन्त्र व्यक्तिले सम्पूर्ण देशको संचालन गर्न सक्दैन तर विद्यमान संरचनाको सहयोगले कुनै नगर वा महानगरको संचालन गर्न सकिन्छ यसमा कुनै दुई राय हुन सक्दैन | काठमाडौँ महानगरको मतगणनाको सम्पूर्ण नतिजा न आउन्जेल सम्म भन्न सकिएन तर प्रारम्भिक नतिजाले बालेनलाई काठमाडौँको मेयरको दह्रो उम्मेदवारको रुपमा प्रस्तुत गरि सकेको छ | यदि यहि अग्रता रहनेहो भने केहि दिन पछी बालेन्द्र साह “बालेन” काठमाडौँ महानगरीको युवा पिता बन्नेछन् जसले निम्नानुसारको संकेत गरेको विश्लेषण गर्न सकिन्छ |

एजेन्डा बिहिन परम्परागत राजनैतिक शक्तिको विरोध वा तिरस्कार

बालेनको विजय सुनिश्चित नभए पनि प्रारम्भिक नतिजाले आम जनसमुदायले परम्परागत र कुनै नीति तथा राजनैतिक लक्ष्य नभएको राजनैतिक शक्तिलाई तिरस्कार गरेको प्रस्ट छ | वर्तमान समयमा विद्यमान राजनैतिक पार्टी र नेता बाट जनता हरु वाक्क दिक्क भएका छन् | तसर्थ अब सबै राजनैतिक पार्टीहरुले आ-आफ्नो सिद्दान्त, एजेन्डा र लक्षमा परिमार्जन गरि जनमुखी बनाउन जरुरि देखिएको छ | अबका युवाहरु पिछलग्गु झोले बन्न रुचाउँदैनन् तिनले प्रतिस्पर्धी र स्पष्ट दृष्टि भएको सेवक चाहन्छन् भन्ने स्पष्ट संकेत गरेको छ |

परम्परागत रुढीवादी समाज परिवर्तन

बालेन तराई मुलको त्यसमा पनि तथाकथित तल्लोजातको भनिएको समुदाय बाट प्रतिनिधित्व गर्दै काठमाडौँ महानगरको मेयर भएमा काठमाडौँको समाज उपत्यका बाहिर बाट आउने मान्छे प्रति बढी उदार रहेको र दुई दशक अगाडिको अनुदार समाज भन्दा बढी प्रगतिशील सहिष्णु र नेवारी समुदाय बाट मात्र नेतृत्व गर्नु पर्छ भन्ने मानसिकता बाट मुक्त भै योग्य र प्रतिस्पर्धी व्यक्तिले नै नेत्रित्व गर्नु पर्छ भन्ने तर्फ अग्रसर रहेको प्रष्ट भएको छ | राजधानीवासी जनता जातभात बाट माथि उठेर मधेशी समुदायले उचित सम्मान पाउनु पर्छ भन्ने तर्फ पनि सचेत रहेको संकेत गरेको छ |

बालेनका चुनौतीहरु

म गर्न सक्छु भन्नु र गर्नुमा धेरै नै अन्तर हुन्छ | त्यहाँ सफलता र असफलताको बराबर सम्भावना रहेको हुन्छ | घोडा चड्ने लड्छ भने तापनि चड्दै नचड्नु र चढे पछी लड्नुमा फरक छ | एउटा राम्रो योग्य व्यक्तिको प्रयासलाई सकारात्मकरुपमा लिनु पर्दछ र सहयोग गर्नु पर्दछ | तथापी बालेनलाई धेरै चुनौती हरु हुन सक्छन् र ती चुनौतिका चांगमध्ये केहि तल उल्लेख गरिएका सरह हुन सक्छन् |

नौलो खेलाडी

नौलो खेलाडीले पहिले आफुलाई प्रमाणित गर्नु पर्नेहुन्छ | गोल नगरे सम्म वा शतक नजमाये सम्म फुटबल र क्रिकेटमा कसैको नजरमा परिन्न भने जस्तै बालेनले पनि पहिलो वर्ष वा केहि महिना वा केहि उल्लेखनीय काम नगरुन्जेल कसैले पत्याउने छैनन् | उमेरले आफु भन्दा बरिष्ट र बाउ, बाजेका पुस्ताका नगर परिषद सदस्य संग तथा पदाधिकारी र सल्लाहकारहरु संग काम गर्न बालेनलाई फलामको च्युरा चपाए सरह हुनेछ | उमेर र अनुभवको कमीलाई सुझबुझ पूर्ण निर्णय र व्यबहारले जित्नु पर्ने छ |

पार्टीगत राजनीतिको भुमरी

हुन त प्रधानमन्त्री र मेयरको जिम्मेवारी, काम कारवाही र अधिकारको तुलना हुन सक्दैन तर राजनीतिका चतुर खेलाडी मानिएका र झन्डै दुई तिहाई बहुमतका साथ प्रधानमन्त्री बनेका भूतपूर्व प्रधानमन्त्री के. पी. ओलीले त पुरै कार्यकाल सरकार चलाउन नसकेको यथार्थ हाम्रो सामु छ | त्यस्तै संस्कार र प्रशिक्षणमा दीक्षित तिनै पार्टीका कार्यकर्ताहरुले पार्टीको स्वार्थ भन्दा माथि उठेर सहयोग गर्लान भन्ने विश्वास लिन गार्हो पर्छ तैपनि बालेनले भने सरह हरेक बैठक र सभाका निर्णयहरुलाई पारदर्शी ढंगले कार्यान्वयन गर्न थप सजग र सचेत हुनु जरुरि छ |

गैह्र नेवारी समुदाय

जित्ने सम्भावना रहेका पुराना मेयर स्थापितले आफ्नो चुनावी प्रचार प्रसारको दौरानमा बालेनलाई गैह्र नेवारी समुदायको र मधेशी मुलको फुच्चे तथा नेवारी संस्कृति नबुझेको भनि बहुसंख्यक नेवारी समुदायको मत तान्ने प्रयास गर्नुले समेत अझै पनि मधेशी र उपत्यका भन्दा बाहिरका व्यक्तिलाई काठमाडौँमा मेयरको जिम्मेवारी वहन गर्न गा-हो नहोला भन्न सकिन्न तर कुनै पार्टीमा आबद्ध न भएको कारणले जनमतको कदर गर्दै बहुसंख्यक सदस्यहरुले सहयोग गरेमा सहयोगको उदाहरणीय नमुना समेत बन्न सक्ने प्रबल सम्भावना रहेको छ |

 

 

९ जेठ २०७९, सोमवार १४:१७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु