दशैँमा जमराको महत्व !
दशैँमा जमराको महत्व !दशैंमा टीका लगाइदिने र जमरा राखिदिने चलन छ । घटस्थापनाको दिन राखेको जौको जमरा टीका थाप्नेको टोपी भित्र,टाउकोमा कपालभित्र वा कानमा आशीर्वाद दिदै राखिन्छ । जमरा राख्ने यसको आफ्नै खास विधि छ ।मन्त्र छ।अँध्यारो स्थान, जहाँ सूर्यको प्रकास आउँदैन, त्यहाँ शुद्ध माटोमा जौ छरेर जमरा उमारिन्छ ।
धर्मशास्त्रहरुले यसलाई समृद्धिको प्रतीक मानिएका छन् । संस्कृतमा यव भनिने जौको जमरा खासमा भन्ने हो भने पौष्टिक खाद्यपदार्थ हो । जौलाई स्वास्थ्यका दृष्टिले पनि औषधी मानिन्छ । यसमा कार्बोहाइड्रेड, प्रोटिन र भिटामिनहरु पाइन्छ । जमरा वा यसको रस निकै स्वास्थ्यबर्द्धक मानिन्छ ।
वैदिक ग्रन्थहरुमा जौलाई रोग हटाउने यज्ञ९यज्ञादिमा उपयोगी, बल र प्राणलाई पुष्ट पार्न अन्नका रुपमा लिइएको छ । पौराणिक ग्रन्थहरुमा पनि यवोसि धान्यश भनेर जौलाई अन्नको राजा मानिएको छ ।गीतामा भगवान श्रीकृष्णले पनि औषधिनामहं यवः अर्थात औषधीहरुमा म जौ हुँ भन्नुभएकाले पनि यसको महत्त्व पुष्टि हुन्छ ।
हाम्रा गाउँघरमा अझै पनि दसैंको जमरालाई सुकाएर राखी विभिन्न रोग लाग्दा पानीमा उमालेर पिउने चलन छ । अमेरिकी वैज्ञानिकहरुले गरेको अनुसन्धानअनुसार अंकुरित जौ सम्पुर्ण आहार र औषधीमध्ये सर्वोत्कृष्ट खाद्यपदार्थ हो। भारतीय चिकित्सकहरुले पनि जमराको प्रयोगबाट पेट, आन्द्रा, हाड एवं अन्य रोगहरुको सफल उपचार गरिसकेका छन् ।
१४ असोज २०७९, शुक्रवार ११:१५ बजे प्रकाशित