NIC ASIA Bank Long Ad

सडकपेटीमै सवारीसाधन पार्किङ

लामो समयदेखि निर्माण थालिएको बसपार्क ढिलासुस्तीका कारण अलपत्र अवस्थामा रहँदासडक पेटीमा सवारीसाधन पार्किङ हुँदै आएको छ । सप्तरीको राजविराजस्थित राजदेवी टोलमा रहेको व्यवस्थित बसपार्क निर्माण कम्पनीको ढिलासुस्तीले गर्दा अहिलेसम्म ६० प्रतिशत पनि काम सम्पन्न नभएकाले बस व्यवसायीले राजविराजको मुख्य सडक पेटीमै गाडी पार्किङ भइरहेको छ ।समयावधि समाप्त भएको झण्डै दुई वर्ष हुन लाग्दा पनि निर्माण कार्य अलपत्र अवस्थामा छ । राजविराजस्थित राजदेवी टोलमा चारकठ्ठा जग्गामा थालिएको निर्माण अन्योलमा परेपछि स्थानीयवासी निराश भएका छन् । ढिलाइका कारण राजविराज नगरमा सवारीसाधन लथालिङ्ग अवस्थामा रहँदा सवारी दुर्घटनाको जोखिमसमेत बढेको छ ।

सोह्र वटा वडा रहेको राजविराज नगरपालिकामा बसपार्क लामो समयदेखि नहँुदा नगरवासीलाई आवतजावतका लागि समस्या हुने गरेको छ । सहरी विकास मन्त्रालयबाट रु १६ करोड ३८ लाख ९६ हजार ५१९ मा काम गर्ने ठेक्का पाएको काठमाडौँको कुलेश्वरस्थित सिनर्जी विल्डर्स प्रालीले उक्त बसपार्क निर्माणका लागि २०७४ पुस १६ गते सम्झौता गरेको थियो ।निर्माण कम्पनीले २०७७ साल पुस १८ गतेभित्र बसपार्क निर्माण गरिसक्नुपर्नेमा सुस्तगतिमा काम गर्दा म्याद सकिदा पनि निर्माणकार्य अलपत्र छ ।
उक्त कम्पनीले समयमै निर्माण सम्पन्न नगर्दा बसपार्क सुस्तगतिमा रहेको स्थानीयवासी प्रवीन यादवले गुनासो गर्नुभयो । काम सुस्त भएको भन्दै सहरी विकास तथा भवन निर्माण विभाग र निर्माण कम्पनीका बीचमा छलफल पनि भएको थियो । छिट्टै बसपार्क निर्माण हुनुपर्ने नगरवासीले जोड दिएका छन् । उक्त बसपार्क २०४४सालमा तत्कालीन प्रधानमन्त्री मरिचमान सिंहले पहिलो पटक शिलान्यास गर्नुभएको थियो । त्यसपछि २०४६ सालमा तत्कालीन अञ्चलाधीश सूर्यबहादुर सेन ओलीले र २०५२ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले तेस्रो पटक शिलान्यास गर्नुभएको थियो ।

पटक–पटक शिलान्यास गरी काम गरिए पनि सरोकारवाला निकायको उदासिनताका कारण बसपार्क निर्माणको काम अझै अधुरै रहेको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र रहेको राजविराज बजारमा वर्षौदेखि सडकमै अस्तव्यस्तरुपमा पार्किङ यथावतै छ ।सवारी चालकले ट्राफिक प्रहरीलाई नटेर्दा पनि राजविराजको मुख्य सडकमा अस्तव्यस्त पार्किङको अवस्था वर्षौदेखि उस्तै नै रहेको छ ।
बसपार्क समयमा निर्माण नहुँदा राजविराजको रुपनी रोड, गजेन्द्र चोक, दर्शन चोक, कुनौली मोड, राममन्दिर मोड र सखडा रोडलगायत स्थानमा अहिले लामो तथा छोटो दूरीका सवारीसाधन पार्किङ भइरहेका छन् ।

ती चोकमा सडकलाई नै बसपार्क बनाइएका कारण बजारमा हिँड्ने सर्वसाधारणलाई हिँडडुल गर्नसमेत समस्या हुने गरेको गुनासो बढेको छ । मेनरोडको उक्त चोकमा चारैतिर बस, माइक्रोबस र टेम्पो पार्किङ गरेर यात्रु चढाउने ओराल्ने कार्यलेसमेत दुर्घटना हुनसक्ने सम्भावना बढाएको छ । राजविराजको रुपनी रोडदेखि तेतरी गाछीसम्म करिब दुई किलोमिटर सडकमा ठूला बस तथा सानो गाडी पार्किङ गरिएकाले सर्वसाधारणलाई बजारमा हिँड्न सकस भएको राजविराजका आयुष श्रेष्ठले बताउनुभयो ।

यस्तै राजविराजको मुख्य सडकमै काठमाडाँै जाने रात्रिबसले बीच सडकको दुवैतर्फ दैनिक यात्रु चढाउने र ओराल्ने गरेका कारण बेलाबखत सवारी दुर्घटना हुने गरेको नगरवासीको भनाइ छ । यसरी मुख्य सडकमा बस पार्किङ गर्नाले ध्वनी प्रदूषण बढेको, मानिसको स्वास्थ्यमा असर पु¥याएको र नगरको सौन्र्दयता पनि गुम्दै गएको छ ।
बजारको मुख्य सडक खण्डमा अव्यवस्थित रुपमा पार्किङ गरिँदा सडक साँघुरो हुनाका साथै ट्राफिक जामसमेत हुने सम्भावना बढेको छ । वर्षौदेखि पसल अगाडि सडकमै सवारीसाधन राखिँदा राजविराज बजारको ट्राफिक अस्तव्यस्त देखिँदै आएको स्थानीय व्यापारीले बताए ।सडकमै अव्यवस्थित पार्किङ गरिँदा दुर्घटना हुने भए पनि सडकमै पार्किङ गर्न बाध्य भएको सम्बद्ध चालकहरुले बताए । व्यवस्थित पार्किङस्थल नहुँदा बाहिरबाट आएका सवारीसाधन राख्नका लागि समस्या पर्ने गरेको माइक्रोबस व्यवसायी पवन यादवले बताउनुभयो ।

पछिल्लो वर्षमा राजविराज सहर बजार परिवर्तन हुन थाले पनि पार्किङ व्यवस्थापनका लागि भने उस्तै रहेको उहाँको भनाइ थियोे । व्यवस्थित पार्किङस्थल नहुनु र भएको बसपार्क पनि समयमै नबनेका कारण सडकमै पार्किङ गर्दा दुर्घटनाको डर पनि उत्तिकै छ । सडक किनारमै लहरै सवारीसाधन पार्किङ गरिँदा ठूला बस तथा सवारी साधनलाई आहोरदोहोर गर्न समस्या पर्ने गरेको व्यवसायीय यादवको भनाइ थियो । पार्किङको जिम्मेवारी स्थानीय तहले लिनुपर्ने र त्यसका लागि स्थान देखाउनुपर्ने भए पनि स्थानीय तह र सरोकारवाला निकायको कमजोरीका कारण सडकमा पार्किङ भइरहेको नगरवासीको आरोप थियो ।

यहाँको पार्किङका लागि धेरै पटक कुरा गर्दा पनि बेवास्था गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताउनुभयो । प्रहरीले नियमन गर्न खोज्दा पनि स्थानीय सवारी चालक तथा समितिले अटेरी गरिदिँदा पार्किङलाई व्यवस्थित गर्न सकिएको छैन ।पर्याप्त जनशक्ति अभाव छ तर पनि जिल्लामा ट्राफिक प्रहरीले नियमन गराउँने प्रयास गर्दासमेत अटेरी गर्ने प्रवृत्तिले समस्या निम्तिएको उहाँको भनाइ थियो । स्थानीय तहले पनि पार्किङका लागि व्यवस्थापन गन पहल गर्नुपर्नेमा प्रहरी नायब उपरीक्षक काफ्लेले जोड दिनुभयो ।रासस

१० साउन २०७९, मंगलवार १३:५६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु