NIC ASIA Bank Long Ad

विश्वका उत्कृष्ट विश्वविद्यालयको अग्रणी सूचीमा त्रिभुवन विश्वविद्यालय समेटियो

त्रिभुवन विश्वविद्यालयलाई ठुलो सफलता मिलेको छ । त्रिविलाई विश्वका उत्कृष्ट १,००० विश्वविद्यालयलको समुहमा अटाउन सफल भएको छ । पछिल्ला वर्षहरुमा विश्व वेव सर्वेक्षणमा भाग लिँदै आएको त्रिविलाई बेलायतस्थित टाइम्स हाइयर एजुकेशनले सन् २०२१ को लागि गरेको विश्वविद्यालय सर्वेक्षणमा विश्व वरियाताको उत्कृष्ट हजारभित्र पर्न सफल विश्वविद्यालयको परिचय दिलाएको छ ।

 

यहि सेप्टेम्बर २ तारिखमा संस्थाले जारी गरेको सन् २०२१ का लागि विश्वमा उत्कृष्ट विश्वविद्यालयहरुको नतिजामा त्रिविले यो स्थान पाएको हो । यो सर्वेक्षणमा विश्वभरबाट १ हजार ५ सय २७ विश्वविद्यालयहरुको सूची जारी गरिएको छ । यस नतिजामा बेलायतका २ वटा र अमेरिकाका ८ वटा विश्वविद्यालय उत्कृष्ट १० मा परेका छन् ।

 

यस अघि सन् २०२० को सर्वेक्षणमा सहभागी हुँदा भने त्रिवि १३६० औँ स्थानमा परेको थियो । तर सन् २०१९ मा भने ८०१–१००० भित्र अटाएको थियो । हरेक वर्ष सेप्टेम्बर पहिलो साता सार्बजनिक हुने यो नतिजामा त्रिवि प्रायः एक हजारभित्र अटाउने गरेको छ । विश्वविद्यालयहरुको वरियता विभिन्न संस्थाहरुले गर्ने गर्दछन् । सन् २०१६ अगाडिसम्म अन्य संस्थाहरुको सर्वेक्षणमा त्रिवि विश्वका उत्कृष्ट विश्वविद्यालयहरुको सूचीमा ४२४१ औं स्थानमा रहेको थियो भने सन् २०१८ मा उत्कृष्ट ३९२५ औं स्थानमा थियो ।

 

तर टाइम्स हाइयर एजुकेशनको सन् २०१९ को सर्वेक्षणमा भने हजारभित्र परेर त्रिविले विश्वको ध्यान खिच्यो । उक्त संस्थाको सर्वेक्षणको लागि हरेक वर्ष वेवसाइटको अनलाइन फर्ममार्फत विवरणहरु पठाएर विश्वविद्यालयहरु सहभागी हुने गरेका छन् । यस सर्वेक्षणमा उत्कृष्टताका लागि विभिन्न मापदण्डहरु र सूचकहरु राखिएको छ, जसका आधारमा विश्वविद्यालयहरुको वर्गीकरण गर्ने गरिन्छ ।

 

विश्वका जुनसुकै विश्वविद्यालयमा अध्ययन गर्न विद्यार्थीहरु जाँदा कुन वरियताको विश्वविद्यालयबाट विद्यार्थी आएको हुन् र कुन वरियताको विश्वविद्यालयमा पुगिएको छ भनेर हेर्ने चलन विश्वभर सुरु भैसकेको छ । उत्कृष्ट हजारभित्र परेका विश्वविद्यालयहरुका विद्यार्थीहरु विश्व बजारमा जहाँ पनि पढ्न, अनुसन्धान गर्न जान सहज हुने बताइन्छ । टाइम हायर एजुकेशनले एउटा मापदण्ड बनाएर विश्वभरिका विश्वविद्यालयहरूको उत्कृष्टताको सूची बनाउँदछ ।

 

 

 

मूलतः यस्मा शिक्षण, अनुसन्धान, साइटेशन, अन्तर्राष्ट्रिय छवि र संस्थाको आयलाई सूचक मान्ने गरिन्छ । यी शीर्षकलाई पाँच खम्बाको रूपमा स्थापित गरी १०० पूर्णाङ्क निर्धारण गरिएको हुन्छ । जसमध्ये शिक्षणलाई ३० प्रतिशत, अनुसन्धानलाई ३० प्रतिशत, साइटेशनलाई ३० प्रतिशत, अन्तर्राष्ट्रिय छविलाई ७।५ प्रतिशत र संस्थाको आयलाई २।५ प्रतिशत अङ्क प्रदान गर्ने गरिन्छ ।

 

यी पाँच शीर्षकमा विश्वविद्यालयहरूले प्राप्त गरेको अङ्कलाई आधार मानी विश्वभरका विश्वविद्यालयहरुको उत्कृष्टताको सूची सार्वजनिक गर्ने गरिन्छ । अर्कोतिर यस संस्थाले विश्व विश्वविद्यालय र्याङ्कका लागि उल्लेखित पाँच मुल शीर्षकहरु अन्तरगत १३ वटा सूचकाङ्कहरूलाई पाँच समूहमा विभाजन गरी अङ्क प्रदान गर्ने गरेको छ ।

 

तपाँईलाई जानकारी गराउ कि यो संस्थाले मूल्याङ्कनको मापदण्ड स्पष्ट रुपमा प्रस्तुत गरेको छ । कुन विश्वविद्यालयले कुन शीर्षक, उपशीर्षकमा कति अंक प्राप्त गरी उक्त स्थान हासिल गरेको छ भन्ने विवरण समेत सार्बजनिक गरिएको छ । विवरण अनुसार अनुसन्धान अन्तरगत विश्वविद्यालयको विश्वव्यापी ख्याती सर्वेक्षण, अनुसन्धान आय र उत्पादन सबै मापदण्डहरु हेरिएको छ ।

 

२० भदौ २०७७, शनिवार १५:४७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु