नेपाल स्टार्टअप फेस्ट-२०२३ डिसेम्बरमा हुने
नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले नेपाल स्टार्टअप फेस्टको दोस्रो संस्करण आगामी डिसेम्बर २३ मा गर्ने घोषणा गरेको छ।
मञ्चले सन् २०२२ मा नेपाल स्टार्टअप फेस्टको पहिलो संस्करण सफलतापूर्वक सम्पन्न गरेको थियो। मञ्चले दोस्रो संस्करणको नेपाल स्टार्टअप फेस्टमा सहभागिताका लागि आवेदन पनि खुला गरेको छ।
हालै राजधानीमा आयोजित एक कार्यक्रममा मञ्चले स्टार्टअप कम्पनीमा लगानीका लागि ११ वटा कम्पनीसँग समझदारीसमेत गरेको छ। एनएमबी क्यापिटल, हिमालयन, ग्लोबल इक्विटी, टिम भेन्चर्स, टेली भेन्चर्स, नियोटेरिक, लोटस होल्डिङ, एनआईबीएम एस क्यापिटल, अवसर, रिलायबल र अध्यान्तासँग मञ्चले लगानीका लागि समझदारी गरेको हो। यी कम्पनीसँग स्टार्टअप तथा अन्य क्षेत्रमा लगानी गर्न सक्ने करिब २५ अर्ब रुपैयाँ रहेको जनाइएको छ।
सोही कार्यक्रममा नेपाल उद्योग परिसंघ, नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च, टिम भेन्चर्ससँगको अगुवाइमा स्थापना गरिएको ग्रोथ एक्स एभरेस्टको पहिलो ब्याचका स्टार्टअप कम्पनीलाई दीक्षित पनि गरिएको छ। ग्रोथएक्स एभरेस्टको पहिलो ब्याजका रुपमा छानिएका ८ वटा स्टार्टअप कम्पनीलाई ६ महिनाको तालिम प्रदान गरिएको थियो। बिहे नेपाल, डक्टर्स अन कल, फोकसवान, कारखाना, भेदा, डेलिस डेरिज्, सेभेन मल्टी टे«डिङ र वाइजयाक स्टार्टअप कम्पनीलाई ६ महिनाको तालिम दिइएको थियो।
तालिम प्राप्त गरेकामध्ये ६ वटा स्टार्टअप कम्पनीले उल्लेखित ११ वटा लगानी कम्पनीसमक्ष आफ्नो नवीन सोचका बारेमा प्रस्तुतीकरणसमेत गरेका छन्। ११ वटा कम्पनीले ती स्टार्टअपमा गर्ने लगानीको विषयमा छिट्टै घोषणा गर्नेछन्।
२९ असोज २०८०, सोमवार ११:५९ बजे प्रकाशित