NIC ASIA Bank Long Ad

बैंकिङ क्षेत्रको कुल निक्षेप ५८ खर्ब ४७ अर्ब

बैंकिङ क्षेत्रको कुल निक्षेप (रकम संकलन) ५८ खर्ब ४७ अर्ब रूपैयाँ पुगेको छ ।

नेपाल राष्ट्र बैंकले पछिल्लो पटक असोज २३ गते अद्यावधिक गरेको बैंकिङ क्षेत्रको निक्षेप तथा कर्जा प्रवाहसम्बन्धी विवरणअनुसार बैंकिङ प्रणालीमा उक्त परिमाणमा निक्षेप संकलन भएको हो ।

केन्द्रीय बैंकका अनुसार वाणिज्य बैंकहरूले मात्र संकलन गरेको निक्षेप ५१ खर्ब ६५ अर्ब रूपैयाँ छ । यस्तै, विकास बैंक र फाइनान्स कम्पनीहरूले संकलन गरेको कुल निक्षेप रकम छ खर्ब ८२ अर्ब रूपैयाँ छ ।

यस अवधिमा बैंक तथा वित्तीय संस्थाहरूको कुल कर्जा प्रवाह अर्थात् विभिन्न क्षेत्रमा ऋण लगानी ४९ खर्ब ५१ अर्ब रूपैयाँ छ । सोमध्ये वाणिज बैंकहरूले ४३ खर्ब ८४ अर्ब रूपैयाँ, विकास बैंक र फाइनान्स कम्पनीले पाँच खर्ब ६७ अर्ब रूपैयाँ कर्जा प्रवाह गरेका छन् ।

चालू आर्थिक वर्ष सुरु भएदेखि बैंकहरूको निक्षेप लगातार बढिरहेको छ । २०८० असार मसान्तमा ५७ खर्ब ७० अर्ब रहेको बैंकहरूको निक्षेप त्यसयता करिब तीन महिनामा ७७ अर्ब रूपैयाँ बढेर ५८ खर्ब ४७ अर्ब पुगेको हो ।

पछिल्लो समय आन्तरिक बजारको गतिविधि न्यून भएको र ब्याजदर पनि उच्च हुँदा निक्षेप रकम बढेको देखिन्छ ।

निक्षेपको तुलनामा कर्जाको वृद्धिदर पनि बराबरजस्तै छ । २०८० असार मसान्तमा ४८ खर्ब ७९ अर्ब कर्जा प्रवाह भएकामा त्यसयता करिब तीन महिनामा ७२ अर्ब रूपैयाँ नयाँ कर्जा प्रवाह भएको देखिन्छ ।

गत असारमा निक्षेप उच्चदरमा बढेको र कर्जाको माग नभएकाले बैंकहरूको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) सहज अवस्थामा देखिएको छ । बैंकहरूको सीडी रेसियो ८१ दशमलव ८१ प्रतिशत छ ।

बैंकहरूबीच हुने कारोबारको दर पनि न्यून छ । अन्तरबैंक ब्याजदर एक दशमलव ९९ प्रतिशत कायम छ ।

यी तथ्यांकले बैंकहरू अझै तीन खर्ब हाराहारी कर्जा प्रवाह गर्नसक्ने क्षमतामा छन् भन्ने देखाउँछ ।

बैंकहरूले पाँच करोड १७ लाख ३८ हजार ३१ वटा निक्षेप खातामार्फत निक्षेप संकलन गरेका छन् ।

जसमध्ये वाणिज्य बैंकहरूको चार करोड ४४ लाख ४१ हजार पाँच सय आठवटा, विकास बैंकहरूको ६५ लाख तीन हजार आठ सय ९६ वटा र फाइनान्स कम्पनीहरूको सात लाख ९२ हजार छ सय २७ वटा खाता छन् ।

बैंक तथा वित्तीय संस्थाले कुल १८ लाख ४८ हजार सात सय खातामार्फत कर्जा प्रवाह गरेका छन् ।

यसमध्ये वाणिज्य बैंकहरूको १५ लाख १७ हजार सात सय ४३, विकास बैंकहरूको दुई लाख ८९ हजार एक सय ७० र फाइनान्स कम्पनीहरूको ४१ हजार सात सय ८७ वटा खाता सञ्चालनमा छन् ।

(आर्थिक दैनिकबाट)

२९ असोज २०८०, सोमवार ११:५५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु